एनसीसी बैंकसहित ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ६३ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २ सय ८४ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको चौबीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार होटल हार्दिक, बागबजार, काठमाडौँबाट भर्चुअल माध्यममार्फत् बिहान ११ बजेदेखि सुरू हुनेछ ।

बिज्ञापन

सभामा बैंकको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय २ रूपैयाँ ३८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य एक हजार ८ सय ९३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको नवौँ वार्षिक साधारण सभा पौष २४ गते, शनिबार, संस्थाको केन्द्रिय कार्यालय, महुली, सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको कार्तिक १३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय ७२ रूपैयाँ १८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य एक हजार ५ सय २७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको नवौँ वार्षिक साधारण सभा पौष २४ गते, शनिबार, गैँडाकोट रिसोर्ट, नवलपरासीमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।