पत्रकारलाई अदालतमा बोलाइएकोप्रति महासंघको आपत्ति
काठमाडौँ : समाचारको विषयलाई लिएर सर्वाेच्च अदालतले पत्रकारलाई सोधपुछका लागि बोलाएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । सर्वाेच्चको यस्तो कदम प्रेस स्वतन्त्रताविरोधी कदम भएको महासंघको भनाइ छ ।

समाचारको विषयलाई लिएर इमेजखबर डटकमका सम्पादक राजन कुइँकेल तथा नेपालसमय डटकमका प्रधानसम्पादक नारायण अमृतलाई सर्वाेच्च अदालतले मंगलबार बोलाएर सोधपुछ गरेको थियो । प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीचको भेटसम्बन्धी समाचारको विषयलाई लिएर सर्वाेच्चले उनीहरूलाई बोलाएको हो ।

बिज्ञापन

‘प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ,’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वाेच्च संस्था सर्वाेच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो ।’ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

सर्वाेच्च अदालतले मंगलबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको भेट नभएको प्रस्ट पारेको छ ।