
वीरगञ्ज। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको बताएका छन् । सत्ता गठबन्धनका अन्य दलले बाम गठबन्धन गर्ने गृहकार्य गरिरहेको बेला कोइरालाको यस्तो धारणा आएको हो ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएमा हुन् । उनले भने, माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्नका लागि हो । हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लार्ज पार्टी हो ।’



उनले संघ र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन भित्र हुने सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने बताए । ‘सिट बाँडफाँट कसरी हुन्छ म भन्न सक्दिनँ, तर जसरी माओवादीले सिट बाँडौं भनिरहेको छ, त्यसरी हुँदैन,’भन्दै उनले ‘२०७४ सालको आधारमा सिट बाँडफाँट हुन नसक्ने बताए ।’

प्रदेश र संघको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने कोइरालाको भनाइ थियो ।
तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ज्ञारेन्टी हुनुपर्ने पनि उनको भनाई छ । तालमेलका लागि उनले तीन शर्त राखेका छन् । पहिलो, आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, दोस्रो, वैदेशिक नीतिमा न्युनतम समझदारी हुनुपर्ने र तेस्रो, ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने छ ।