
काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको आन्तरिक विवाद समाधानमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता गलत भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा राष्ट्रपतिले चासो देखाउनु पदीय मर्यादा र गरिमाको उल्लंघन भएको बताएका छन् ।





रावलले राष्ट्रपतिले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिनु गलत भएको उल्लेख गर्दै ट्विटरमा लेखेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’
नेकपाभित्रको आन्तरिक विवाद चुलिएकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी थिइन् । राष्ट्रपति भण्डारीको बोलावटमा शीतल निवास पुगेका उपाध्यक्ष गौतमले पार्टीको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । भेटमा राष्ट्रपतिले विगतमा पनि नेकपामा विवाद हुँदा भूमिका खेलेको भन्दै यसपटक पनि उस्तै भूमिका निभाउन गौतमलाई सुझाव दिएको गौतमको सचिवालयले बताएको थियो । जवाफमा गौतमले नेकपाको एकताका लागि आफ्नोतर्फबाट भूमिका खेल्ने बचन दिएका थिए ।
पटक-पटक नेकपाको आन्तरिक विवादमा राष्ट्रपतिले चासो देखाउँदै सक्रियता बढाउनु पदीय मर्यादा र गरिमाको उल्लंघन भएको भन्दै आलोचना भइरहेको छ ।