
ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले आजै कन्जरभेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिने भएका छन् । तथापि उनले आगामी शरदसम्म प्रधानमन्त्री पदबाट कायम रहने बताएका छन् । कन्जरभेटिभ नेतृत्वको लागि यही गृष्ममा प्रतिस्पर्धा हुनेछ र अक्टोबरमा हुने कन्जरभेटिभ पार्टी सम्मेलनसम्ममा बेलायतले नयाँ प्रधानमन्त्री पाइसक्नेछ ।पछिल्लो समय बोरिस जोनसनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनका मन्त्रिपरिषदका कैयौं सदस्यले राजीनामा दिइसकेका छन् ।

यो क्रम बुधबारबाट सुरु भएको थियो जब अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्य मन्त्री शाजिद जाबिदले केही मिनेटको अन्तरमा राजीनामा दिएका थिए । त्यसयता जोनसन सरकारसँग जोडिएका झण्डै ५० सदस्यले राजीनामा दिएका छन् । योसँगै जोनसनमाथि राजीनामा गर्ने दबाब परेको थियो । जोनसनले एकजना विवादित राजनीतिज्ञलाई महत्वपूर्ण नियुक्ति दिएपछि जोनसनविरुद्ध असन्तुष्टि सुरु भएको थियो ।



