
भक्तपुर : भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटोस्थित अरनिको राजमार्गखण्डमा तीव्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।



दुर्घटना भएलगत्तै घाइते भएका तीनैजानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारका क्रममा साहको गए राति मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनामा कार चालक सिन्धुलीको कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् ।

घाइते घिसिङको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । डिभाइडरमा ठोक्किएर पुनः ट्याक्सीसँग ठोक्किएपछि घाइते भएका ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किएको उनले जानकारी दिए । डिभाइडरमा ठोक्किएको कार पूर्ण रूपमा क्षति भएको छ ।