नेपाल र बंगलादेशलाई विश्व बैंकले १ अर्ब डलर सहयाेग गर्ने

काठमाडौं । दक्षिण एसियामा क्षेत्रीय व्यापार र कनेक्टिभिटीलाई प्रवद्र्धन गर्नका निमित्त विश्व बैंकद्वारा नेपाल र बंगलादेशलाई १ अर्ब डलरभन्दा बढीको सहयोग प्राप्त हुने भएको छ ।बंगलादेश र नेपालको क्षेत्रीय व्यापार सुधार गर्ने तथा यातायात लागत र क्षेत्रीय कोरिडोरमा पारवहन समय घटाउने लक्ष्यका साथ विश्व बैंकले उक्त आर्थिक सहयोग स्वीकृत गरेको हो ।उक्त सहयोगले सम्बन्धित सरकारहरूलाई क्षेत्रीय व्यापारका प्रमुख बाधाहरूलाई सम्बोधन गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ । कार्यक्रमले बंगलादेश र नेपालमा लामो म्यानुअल र कागजमा आधारित व्यापार प्रक्रियाहरूलाई डिजिटलाइज्ड तथा स्वचालित समाधानहरूमा प्रतिस्थापन गर्न, कार्यक्रमले चयन गरेका सडक कोरिडोरहरू सुधार गर्न, मुख्य भूमि बन्दरगाह तथा अनुकूलन पूर्वाधारको स्तरोन्नति गर्न तथा हरित र जलवायु–उत्थानशील निर्माण सुनिश्चित गर्न मद्दत गर्ने विश्व बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बंगलादेशका लागि ७५३.४५ मिलियन डलर बराबरको उक्त सहयोगले ढाका–सिलहट राजमार्गसँग शेओला भूमि बन्दरगाह जोड्दै, ४३ किलोमिटर दुई लेन सिल्हेट–चरकाई–शेओला सडकलाई जलवायु–अनुकूल चार–लेन सडकमा स्तरवृद्धि गर्नेछ।यस्तै यस परियोजनाले डिजिटल प्रणाली, पूर्वाधार, र बेनापोल, भोमरा, र बुरीमारी भूमि बन्दरगाहहरूलाई थप सुव्यवस्थित बनाउनका निमित्त पनि सहयोग गर्ने बताइएको छ ।नेपालको सन्दर्भमा विश्व बैंकले २ सय ७५ मिलियन डलर बराबरको सहयोग गरेको हो जसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिंघे–चनौटा सडकको जलवायु अनुकुलन चार लेनको राजमार्गमा स्तरोन्नति गर्न मद्दत गर्ने छ ।यसले भारतको पश्चिमी बन्दरगाहहरूमा नेपालको पहुँचलाई सहज बनाउने विश्व बैंकको विश्वास रहेको छ । यसले नेपालको मोटर भेहिकल एग्रीमेन्ट (एमभीए) को कार्यान्वयनमा पनि मद्दत गर्ने विश्व बैंकको भनाई छ । विश्व बैंकको एक्सेस्स (एक्सेलेरेटिङ्ग ट्रान्सपोर्ट एन्ड ट्रेड कनेक्टीभिटी इन साउथ एसिया ) परियोजाना अन्तर्गत नेपाल र बंगलादेशले यो सहयोग प्राप्त गर्ने भएका हुन् ।

बिज्ञापन