
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि तार भूमिगत गर्ने कामको थालनी गर्दैछ । तार भूमिगत गर्ने कामको प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट शुभाराम्भ गर्दै हुनुहुन्छ । विद्युत प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गर्दैछ ।




‘हामीले मुख्य गरी बिजुलीका तार अन्डरग्राउन्ड गर्दैछौं, तर हाम्रो लाइनमा अरु सेवा प्रदायकका सबै तार अन्डरग्राउन्ड हुनेछन्, तारकै कारण कुरुप बनेको सहर सफा हुनेछ’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो ।

सडक खनेको १० दिनमै पहिलेको जस्तै अवस्थामा ल्याउने गरी सडक विभागसँग समझदारी गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘एकैपल्ट जताततै सडक खन्दैनौं,२/४ किलोमिटर खन्दै, पीच गर्दै काम हुन्छ, त्यसमाथि व्यवस्थित हिसाबले खन्ने हुँदा पहिले जस्तो धुलो धुँवा हुने गरी खन्दैनौं’ घिसिङले भन्नुभयो ।
तार अन्डरग्राउन्ड गर्दा पहिलेजस्तो माथिबाटै भताभुङ्ग हुनेगरी नखन्ने र मुसाले दुलो पारेजस्तै गरी अर्थात होराइजेन्टल जेन्टलन डाइरेक्सनल ड्रिलिङ प्रबिधीको प्रयोग हुनेछ ।
दुई वटा बितरण केन्द्रको तार ३२ महिनाभित्र अन्डरग्राउन्ड गर्न भारतीय कम्पनी
तार भूमिगत गर्नको लागि केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । महाराजगञ्ज वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा तथा रत्नपार्क वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्न २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा सम्झौता भएको छ ।
पहिलो चरणमा दुई वटा वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरसम्म तार अन्डरग्राउन्ड गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणको तयारी छ। यसको लागि एसियाली विकास बैंक एडिबीले सहुलियतपूर्ण ॠण सहयोग गरेको छ ।