सगरमाथामा स्वचालित मौसम केन्द्रको स्थापना

काठमाडौँ – सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो ।

यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ ।अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले जानकारी दिए । यो केन्द्र आठ हजार ४३० मिटरमा रहेको छ ।

बिज्ञापन

चीनले अहिले राखेको मौसम विज्ञान केन्द्र आठ हजार ८३० मिटरको उचाइमा राखिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । चीनले विश्वकै सबैभन्दा अग्लो स्थानमा राखिएको मौसम केन्द्र भएको दाबी गरेको छ ।‘पृथ्वी शिखर मिसन २०२२’ नाम दिइएको चिनियाँ वैज्ञानिकको सगरमाथा आरोहण टोलीमा १४ सदस्य रहेका थिए । टोलीका एक जना भने चिसोका कारण तल्लो आधार शिविरमा नै रहे । विभिन्न १६ वटा आरोहण दलसहित २७० जनाभन्दा बढीको चिनियाँ टोली गत महिना सगरमाथा उक्लेको हो ।

धेरै जना असहज मौमसका कारण बीचबाटै फर्के तर माथि उक्लने उत्कट चाहना बोकेका १४ जनाले भने एक समूह बनाएर अघि बढेका थिए । सोही टोलीले सगरमाथामा मौसम विज्ञान केन्द्र स्थापना गर्न सफल भएका हुन् ।यस केन्द्रले स्वचालित रूपमा यहाँको मौसमी विवरणको तथ्याङ्क दिन सघाउने विश्वास लिइएको छ ।