
उदयपुर — माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने शोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाईडिङ सञ्चालन गर्ने भएको छ ।

पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाईडिङको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । त्यहाँ प्याराग्लाईडिङ्गको सफल परीक्षण उडान गरिएको छ ।



नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मिटरको उचाईबाट २५० मिटर तल वडा नं. ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाईडिङ्गको परीक्षण गरिएको हो । सफल परिक्षणले पालिकाबासीलाई उत्साहित बनाएको छ । मेयर श्रेष्ठले भने, ‘हाम्रो परीक्षण सफल भयो । अव सम्बन्धित निकायबाट स्विकृति लिएर व्यवसायिक ढंगले प्याराग्लाईडिङ सञ्चालन गर्ने सोच छ ।’

प्याराग्लाईडिङ्गका पाईलट दिलकुमार सुनुवारका अनुसार कटारी क्षेत्रमा प्याराग्लाईडिङ्गको सम्भावना राम्रो देखिएको छ । प्याराग्लाइडिङको लागि उपयुक्त वातावरण र भूगोल रहेको सुनुवारको भनाइ छ । द बाबु एडभेन्चर ईन्टरनेसनल स्कुल स्याङ्जाका प्रशिक्षकहरुले उडान भरेका हुन् ।
प्याराग्लाईडिङसँगै त्याहाँ जीपलाईन सञ्चालनका लागिसमेत परीक्षण सुरु गरिएको छ ।