
काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले आजदेखि मेलम्ची खोलाको पानी काठमाडौंमा पठाउन बन्द गरेको छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले मनसुन सिजन नजिकिएसँगै आजैदेखि पानी पठाउन बन्द गरिएको जानकारी दिए।आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले मेलम्ची खोलाको पानी धमिलो हुन थालेको र सुरूङमा क्षति नहोस् भनेर पानी ल्याउन रोक्न लागिएको बताए। त्यसबारे आजै औपचारिक सूचना निकालेरै जानकारी दिइने उनले बताए। उनका अनुसार पूरै पानी बन्द गर्न भोलिसम्म लाग्छ।



जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिएर सुरुङ बन्द गरिएको हो। अब मनसुन सिजन सकिएपछि कात्तिकमा पुनः पानी काठमाडौं पठाइनेछ।०७८ असारमा आएको भीषण बाढीले आयोजनामा क्षति पुरेयाएको थियो । त्यसको मर्मत–सम्भारपछि केही महिनाअघि काठमाडौंमा पानी पठाइएको थियो।मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदै आइएको थियो।
