राष्ट्र बैंक भन्छ: – बैंकिङ प्रणालीको लगानीमा रहिरहेको कर्जा ४५ खर्ब ५५ अर्ब नाघ्यो

बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहिरहेको कुल कर्जा रकम ४५ खर्ब ५५ अर्ब २४ करोड ९० लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार २७ वटा वाणिज्य बैंकहरुको ४० खर्ब ४० अर्ब २३ करोड ७० लाख र १७ वटा विकास बैंक र १७ वटै फाइनान्स कम्पनीहरुको चार खर्ब २८ अर्ब ३४ करोड ३० लाख रुपैयाँसमेत गरी बैंकिङ प्रणालीको लगानीमा ररिरहेको कुल कर्जा रकम ४५ खर्ब ५५ अर्ब रुपैयाँ नाघेको हो ।

चालु आर्थिक वर्षको पछिल्लो तथ्यांक अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव पाँच प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार १२ दशमलव तीन प्रतिशत कर्जा चालु सम्पत्ति अर्थात कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दसमलव दुई प्रतिशत र १२ दशमलव चार प्रतिशत रहेको थियो ।

बिज्ञापन

चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १० दशमलव दुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव तीन प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा पाँच दशमलव तीन प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा नौ दशमलव पाँच प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा चार दशमलव सात प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा सात दशमलव आठ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४ दशमलव पाँच प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा तीन दशमलव आठ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) सात दशमलव एक प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा आठ दशमलव चार प्रतिशतले र हायर पर्चेज कर्जा चार दशमलव दुई प्रतिशतले बढेको छ । यस अवधिमा मार्जिन प्रकृति कर्जा भने चार दशमलव एक प्रतिशतले घटेको राष्ट्र बैकले जनाएको छ ।