
काठमाडौँ। प्रहरीले दोहोरो भिडन्तमा मारिएका दाबी गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणले नयाँ तरङ्ग ल्याएको छ ।




बिहीबार प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त हुँदा विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेलको लालबन्दी–१ लखन्ती खोलामा प्रहरीको गोली लागेर मृत्यु भएको प्रहरीको दाबी छ । तर विप्लव समूहले भने नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको दाबी गरेको छ ।

विप्लव समूह र प्रहरीको कुरा बाझिनु केही हदले स्वाभाविक होला तर संसद्, संसदीय समिति र सामाजिक सञ्जालमा समेत ‘फेक इन्काउन्टर’को आशङ्का गरिनुले घटनाले नयाँ तरङ्ग लिएकाे हाे । पूर्वमाओवादी निकट सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य मणी थापा, सांसद अञ्जना विशंखे, अनेरास्वियुका सहसंयोजक रञ्जित तामाङ लगायतले उक्त घटनाले प्रहरीसँगै सरकारको नियतमाथि प्रश्न उठाएको बताएका छन् ।