अमेरिकामा अहिले सम्मकै उच्च संक्रमित, एकैदिन १ लाख बढी कोरोना संक्रमित पुष्टि

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुनेकाे संख्या अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । शुक्रबार हालसम्मकै सर्वाधिक १ लाख १ हजार ४६१ जना संक्रमित थपिएका छन् ।

पछिल्लाे समय अमेरिका तथा युराेपमा चिसाे बढेसँगै काेराेना भाइरसकाे संक्रमण पनि तीव्र बढेकाे बताइन्छ । अहिलेसम्म कुनै पनि देशमा १ लाखभन्दा बढी दैनिक संक्रमित फेला परेको थिएन, अमेरिकामा नै पहिलोपटक यति धेरै संख्यामा दैनिक संक्रमित देखिएका हुन् । बिहीबार पनि त्यहाँ ९१ हजार ८३४ नयाँ संक्रमित फेला परेका थिए ।

बिज्ञापन

वर्ल्डोमिटर्सका अनुसार शनिबार बिहानसम्म अमेरिकामा काेराेना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या  त्यहाँ ९३ लाख १६ हजार नाघेकाे छ । साथै अहिलेसम्म २ लाख ३५ हजार १५९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ९८८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी दैनिक संक्रमण फ्रान्समा देखिएकाे छ । त्यहाँ शुक्रबार ४९ हजार २१५ जनामा संक्रमण पुष्टि भएकाे छ भने ५४५ जनाले ज्यान गुमाएका छन् । त्यसपछि भारतमा बढी दैनिक संक्रमित देखिएका छन् । त्यहाँ शुक्रबार ४८ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५५० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको कुल संख्या १ लाख २१ हजार ६८१ पुगेको छ ।

शनिबार बिहानसम्म विश्वभर ४ करोड ५८ लाख ९८ हजारभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वमा शुक्रबा एक दिनमा ५ लाख ७३ हजार ६१६ जनामा संक्रमण पुष्टि भएकाे छ भने ७ हजार ४९० जनाले ज्यान गुमाएका छन् । गत सालकाे डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर अहिलेसम्म ११ लाख ९३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । वर्षदिन हुन लाग्दा समेत काेराेना भाइरसकाे कुनै प्रभावकारी उपचार पत्ता लाग्न सकेकाे छैन ।