
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको बताएका छन् ।




सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेपछि प्रतिक्रया दिँदै पूर्वराजा शाहले नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको पनि उल्लेख गरेका छन् ।

ट्वीट गर्दै उनले लेखेका छन्– ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।’
भारतले केही दिनअघि नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थियो। भारतको उक्त कदमको नेपाल तीव्र विरोध भएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महाकालीवारिको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी गर्ने निर्णय गरेको हो।