
काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमितको संख्या थपिँदै गएको छ ।

सोमबारमात्र काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरि ५४ नयाँ संक्रमित थपिएका हुन् । यस हिसाबले हेर्ने हो भने काठमाडौंमा संक्रमण समुदाय स्तरमा फैलिसकेको अनुमान गरिएको छ ।



स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरि उपत्यकामा सोमबार सम्म दुई सय ३९ जना संक्रमित छन् ।

ईडीसीडीका अनुसार सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । त्यस्तै ललितपुरमा १ र काठमाडौंमा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सोमबार संक्रमण पुष्टि भएका ५४ जना र आइतबार पुष्टि भएका २ जनालाई सोमबार रातिसम्म अस्पताल ल्याइएको छैन ।
अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३२ जना, पाटन अस्पतालमा ४६ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ७५ जना, दुवाकोटको केएमसी अस्पतालमा १८ जना संक्रमित रहेको इडीसीडीले जानकारी दिएको छ ।
त्यस्तै पाटन अस्पताल स्रोतका अनुसार ४५ शय्यको कोभिड युनिट भएको छ । आइसोलेसनमा समेत ८९ जना शंकास्पद बिरामीलाई भर्ना गरेर राखिएको छ ।
त्यसोत घना बस्ती भएको काठमाडौंमा कोरोना संक्रमितहरुको संख्या थपिँदै जानुका साथै ढलमा पनि कोरोना ‘स्ट्रेन’ फेला परेको सार्वजनिक भइसकेको छ ।
सन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्ट सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले उपत्यकाको ढलमा कोरोना भाइरस फेला पारेको हो । यस अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । जसमध्ये दुई ठाउँमा कोभिड–१९को भाइरस फेला परेको हो । उक्त अध्ययनले उपत्यकामा समुदायमा कोरोना संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्याले बताए ।