चार सय केभी क्षमताको तामाकोशी-काठमाडौं प्रसारण लाइन निर्माण हुने

तामाकोशी करिडोर नेपालको जलविद्युतका लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कुल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १ सय मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण सुरु हुनै लागेको छ ।

यस्तै, झण्डै ८ सय ८० मेगावाट क्षमताको तामाकोशी तेस्रोलगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने तयारी छन् । निजी क्षेत्रले निर्माण सम्पन्न गरेका र निर्माणमा जान लागेका आयोजनाको सङ्ख्या झण्डै एक दर्जनको हाराहारीमा रहेको छ ।

बिज्ञापन

माथिल्लो तामाकोशीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटीय क्षेत्रमा समेत थप दुई आयोजना अध्ययनको क्रममा छन् । त्यस्तै, दोलखा र रामेछापमा पनि अन्य आयोजना निर्माणाधीन तथा निर्माणमा जाने तयारी छन् । ती सबै आयोजनाबाट उतपादित हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणाली जोडेर बढी माग हुने क्षेत्रमा पुर्‍याउनका लागि सबैभन्दा महत्वपूर्ण हुन जान्छ प्रसारण लाइन ।

माथिल्लो तामाकोशीबाट उतपादन हुने विद्युत् रामेछापको न्यू खिम्ती सवस्टेशनबाट सिन्धुली, महोत्तरी हुँदै धनुषाको ढल्केबरमा पुर्‍याएर मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । प्रसारण लाइन तथा अन्य संरचनाको अभावमा विद्युत् घुमाउनु परेको छ । यही अवस्थालाई मध्यनजर गरेर सरकारले ४ सय केभी क्षमताको तामाकोशी-काठमाडौं प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार, नेपाल विद्युत् प्राधिरकण तथा एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न थालिएको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त तामाकोशी-काठमाडौं २२०/४०० केभी क्षमताको प्रसारण लाइन आयोजनाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य सार्वजनिक निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्नेछ ।

यस्तै, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्राणलीमा जोडिने भएको छ । न्यू खिम्तीदेखि काठमाडौंसम्म कूल ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

सोही प्रसारण लाइन निर्माणको क्रममा दोलखाको मेलुङ गाँउपालिका, भीमेश्वर नगरपालिकालगायत विभिन्न स्थानमा पर्ने ४ सय केभी आयोजनाको टावर निर्माणका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले आज एक सार्वजनिक सूचना प्रकाशित गरी आयोजनाले प्रभावित पार्ने क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण गर्न लागेको हो ।

सरकारले गत १९ साउनमा आयोजना प्रभावित क्षेत्रको जग्गा प्राप्ति गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा गत १९ साउनकाे मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेको थियो । ‘जग्गा प्राप्ति ऐन, २०३४’ को दफा ९ बमोजिम जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइएको आज प्रकाशित सूचना उल्लेख छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गाको भोगचलनसम्बन्धी काजगात, निस्सा तथा प्रमाणसहित रीतपूर्वक नेपाल विद्युत् प्राधिकरण, तामाकोशी-काठमाडौं प्रसारण लाइन आयोजना भक्तपुर र साइट कार्यालय चरिकोटमा आवेदन दिन आग्रह गरिएको छ ।

आयोजनाले कुल ३ सय ६६ जनाको जग्गा लिन लागेको छ । आयोजनाले रीतपूर्वक निवेदन दिई सरकारको काममा सहयोग गर्नसमेत आग्रह गरेको छ । जग्गा प्राप्ति ऐनअनुसार आयोजना प्रभावितलाई कानूनअनुसार मुआब्जा उपलब्ध गराइनेछ । रासस