कोरोना बिमा पुनः सुरु

काठमाडौं । बिमा समितिले कोरोना भाइरस (कोभिड–१९) बिमालेख पुनः बिक्री गर्न स्वीकृति दिएको छ ।

गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बिमालेखमा जोखिम वहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोरोना बिमा बजेटमा समावेश गरिएको र राष्ट्रिय महत्त्वको कार्यक्रम समेत भएकोले केही परिमार्जन गरी पुनः बिक्री गर्न स्वीकृति दिइएको बताए ।

बिज्ञापन

उनले बिमा कम्पनीहरु, पुनर्बिमा कम्पनी, बिमा समिति र नेपाल सरकार समेत गरी संयुक्त रुपमा बिमालेखलाई अगाडि बढाउने सहमति भएअनुसार बिमालेखलाई निरन्तरता दिने निर्णय भएको बताए । अध्यक्ष चापागाईंले अब जारी गरिने कोरोना बिमालेखअनुसार २०७७ चैत मसान्तसम्मको मात्रै जोखिम वहन हुने बताए ।

यससँगै आजदेखि बिमालेख खरिद गर्नेको आगामी चैत मसान्तसम्मका लागि मात्रै बिमा हुनेछ । यसअघि जारी भएका बिमालेखहरुमा भने खरिद गरेको मितिले एक वर्षको समयसम्मको जोखिम वहन हुने उनले बताए ।

बिमा शुल्क जम्मा भएअनुसार बिमा पुलमार्फत दायित्व भुक्तानी हुनेछ । त्यसपछि मात्रै नेपाल पुनर्बिमा कम्पनी, बिमा समिति र सरकारले समेत व्यहोर्ने गरी बिमालेख जारी गरिएको हो । नेपाल बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले एक अर्ब रुपैयाँसम्मको जोखिम बिमा संस्थाहरुबाट हुने बताए ।

त्यस्तै, पुनर्बिमा कम्पनीले एक अर्ब रुपैयाँ जोखिम बहन गर्नेछ । त्यसपछिको ५० करोड बराबरको जोखिम बिमा कम्पनीहरुको रिजर्भमा रहेको रकमबाट बहन हुनेछ भने बाँकी जोखिम बिमा समिति र नेपाल सरकारले वहन गर्ने सहमति भएअनुसार पुनः जारी गरिएको अध्यक्ष पाण्डेले बताए ।

नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले ३५ हजार नागरिकसम्मको जोखिम ब्यहोर्न सक्ने गरी कोरोना बिमालेख पुनः जारी गरिएको बताए । उनले कोरोना बिमाको पुनर्बिमा नहुने भएकाले सरकारको समेत सहभागिता हुने गरी बिमालेख जारी गर्ने सहमति भएको बताए ।

निर्जीवन बिमा कम्पनी, पुनर्बिमा कम्पनी र बिमा समितिको संयुक्त पहलमा जारी गरिएको कोरोना बिमामा अहिलेसम्म ३ लाख २५ हजार नागरिक सहभागी भएका छन् । बिमा समितिका अध्यक्ष चापागाईंले अहिलेसम्म ३० अर्ब रुपैयाँभन्दा माथिको बिमा जोखिम पुगेको बताए । अब जारी गरिने बिमाको कटअफ समय चैत मसान्तसम्म हुनेछ भने यसअघि खरिद गरेकाको हकमा भने पूरै एक वर्षसम्म रहने अध्यक्ष चापागाईले बताए ।

बिमा समितिले बिमाङ्क रकमको आधारमा ‘क’ र ‘ख’ वर्ग निर्धारण गरी घातक रोग सरहको बिमालेख अनुसार हुन ेगरी कोभिड–१९ बिमालेख जारी गर्ने व्यवस्था गरेको थियो । ‘क’ वर्गको बिमालेखमा एक लाख रुपैयाँको बिमाङ्क रकम हुने र उक्त बिमाका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ र परिवार वा समूहको बिमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँका दरले बिमा शुल्क लाग्नेछ ।

यस्तै ‘ख’ वर्गकोमा बिमाङ्क रकम ५० हजार रुपैयाँ तोकी प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवार वा समूहको बिमा गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँका दरले बिमा शुल्क लाग्नेछ । यस्तै, क्षतिपूर्ति दावीका लागि बिमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा गर्नुपर्ने छ भने भुक्तानी दावीका लागि पिसिआर प्रविधिबाट गरिएको रिपोर्टमा कोरोना पोजिटिभ हुनु पर्नेछ ।