
झापा-कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन्, तर अहिलेको चापलाई धान्न सकेका छैनन् । संक्रमण फैलिएका स्थानीय तहले एक सातासम्म परीक्षणको पालो पाएका छैनन् ।




अहिले विराटनगरको कोसी अस्पताल, प्रादेशिक प्रयोगशाला र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको परीक्षण हुँदै आएको छ । तीनै प्रयोगशालाले दैनिक तीन सय नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको संयोजन गरिरहेका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले बताए । तर, दैनिक ६ सयदेखि सात सयसम्म स्वाब परीक्षणका लागि आउने गरेको यादवले बताए ।

उनका अनुसार प्रादेशिक प्रयोगशालाले एकपटकमा एक परीक्षण गर्दा ३५ नमुना र ‘पुल’मा अर्थात् एकैपटक धेरै स्वाब राखेर परीक्षण गर्दा ५० नमुनाको मात्र परीक्षण गर्न सक्ने क्षमता छ । क्षमता कम भएकाले पुलमा परीक्षण गर्न नसकिएको बताउँदै उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने खालका र धेरै आएका स्वाब अरू दुई ल्याबले परीक्षण गर्छन् ।’ कोसीले एकपटकमा एक मात्र स्वाब परीक्षण गर्दा दैनिक सयदेखि एक सय २० सम्म परीक्षण गर्न सक्छ । यो ल्याबले पुल विधिबाट परीक्षण गर्दा दुई सयसम्म गर्न सक्ने उनले बताए । बिपीको पनि क्षमता कोसीको जस्तै रहेको यादवको भनाइ छ ।
क्षमताभन्दा बढी नमुना आउँदा आधाजति थन्किने गरेका छन् । जसले गर्दा एक हप्तासम्म पालो नपाएको संक्रमण फैलिएका स्थानीय तहले गुनासो गरेका छन् । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना संक्रमण बढ्दै गएकाले अहिलेको परीक्षण क्षमता पर्याप्त नभएको बताए । ‘अहिले हामी दैनिक तीन सयको मात्र पिसिआर परीक्षण गर्न सक्छौँ । यो कमै भएको छ,’ मन्त्री घिमिरेले नयाँ पत्रिकासँग भने, ‘अब दुईवटा पिसिआर मेसिन थपेर दैनिक एक हजार स्वाब परीक्षण गर्न सक्ने क्षमता पु¥याउँदै छौँ ।’ तर, मेसिन राख्नका लागि ल्याब नभेटिएको मन्त्री घिमिरेले बताए ।नयाँ पत्रिका दैनिकबाट