माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक, पहिलो चरणमा १२ प्रतिशत उत्तीर्ण

शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदको पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ । गत चैत १५ गते भएको माध्यमिक तह शिक्षक पदको सार्वजनिक सामान्य परीक्षा नतिजा अनुसार १२ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सामान्य विषयको परीक्षामा ३२ हजार ९७ जना परीक्षामा सहभागी भएकोमा तीन हजार आठ सय ८६ जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

बिज्ञापन

आयोगले रिक्त रहेको एक हजार पाँच सय ५२ दरबन्दी शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो ।

आयोगले विषयगत परीक्षा आगामी असार नौ गते हुने लिने भएको छ । जसमा असार नौ गते बिहान ८ बजेदेखि प्रदेश नम्बर १ को मोरड, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा विषयगत परीक्षा सञ्चालन हुने जनाइएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न चाहने उम्मेदवारले वैशाख २६ गतेभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

पुनर्योग गर्नका लागि वैशाख २६ गते कार्यालय समयभित्र पाँच सय रुपैयाँ राजस्व दस्तुर तिरेको सक्कल रसिद, न्यूनतम शैक्षिक योग्यता र तालिम तथा अध्यापन अनुमति पत्रको प्रमाणपत्र एवम् प्रवेश पत्रको प्रतिलिपिसहित आयोगको वेबसाइटमा भएको पुनर्योग निवेदनको ढाँचा प्रिन्ट गरी सोही अनुसार भरेर आयोगको कार्यालय सानोठिमी वा प्रदेश राजधानी रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन दिन सकिने जनाइएको छ ।

आयोगले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले आयोगको सूचनालाई आधार मानेर निवेदन लिनका लागि पनि सूचनामार्फत नै अनुरोध गरेको छ ।

यस्तै म्याद समाप्त भएको मितिले सात दिनभित्र निवेदकको समष्टिगत विवरणसमेत तयार गरी निवेदनसहित आयोगमा पठाउने व्यवस्थाका लागि आयोगले एकाइलाई पनि जानकारी गराएको छ ।