कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुग्याे, क्यालिफोर्नियामा आपत्काल घाेषणा

काठमाण्डौ – कोभिड–१९ का कारण अमेरिकाकाे क्यालिफाेर्नियामा पहिलाे व्यक्तिकाे ज्यान गएपछि राज्यले आपत्काल घोषणा गरेकाे छ ।

 

बिज्ञापन

क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

 

ज्यान गुमाउने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको बताइएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको थियो ।

 

अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने बताएको छ ।

 

अमेरिकाको १६ राज्यमा कम्तीमा एक सय ५० जनामा कोरोनाको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।

 

विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सयभन्दा बढीको ज्यान गइसकेको छ ।

 

चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गए पनि चीनबाहिर भने यसको सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेकाे छ ।