मानव सेवा आश्रममा रहेका एक सडक मानवको मृत्यु

दमक/ झापा मेचीनगर–४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा रहेका एक सडक मानवको मृत्यु भएको छ। मृतकको पहिचान ५० वर्षीय भुन्टे कुर्मीको नामले गरिएको छ, जसलाई हिजो भद्रपुर–१० मा बेवारिसे अवस्थामा फेला पारेपछि भद्रपुर नगरपालिकाले उद्धार गरी आश्रममा राखेको थियो।

सोमबार दिउँसो  सुतेकै अवस्थामा उनको मृत्यु भएको हो। घटनापछि प्रहरी चौकी बाहुनडाँगीका प्रहरी सहायक निरीक्षक छबिहाङ शेर्माको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

बिज्ञापन

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा टोली पुगेर कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

मृतक दुबै मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।