वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको देखिरहदा पनि किन काङ्ग्रेस चुईक्क बोल्न सक्दैन? – के.सि


रौतहट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले ‘पार्टीको महाअधिवेशन एवम् महासमिति पार्टीको सर्वोच्च निकाय रहेकाे बताउनुभएकाे छ । यसको निर्णय नै सर्वोपरी हुने तर्क गर्दै उहाँले नेपाली काँग्रेसमा महासमिति बैठकले गरेको निर्णयलाई केन्द्रीय कार्यसमितिले उल्ट्याउने, बेवास्ता गर्ने कार्य गर्नु घोर गैरप्रजातान्त्रिक निर्णय रहेकाे बताउनुभयाे ।

बिज्ञापन

प्रजातान्त्रिक विचार केन्द्र, रौतहटले शुक्रबार २९ औं जनआन्दोलन दिवसको उपलक्ष्यमा चन्द्रपुर नगरपालिकामा आयाेजना गरेकाे ‘वर्तमान राजनीतिक सन्दर्भमा लोकतान्त्रिक आन्दोलनका चुनौतीहरू’ विषयक विचार गोष्ठीमा बाेल्दै उहाँले भन्नुभयो- ‘नेपाली काँग्रेसका कार्यकर्ताहरूले पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेर पार्टी अगाडी बढ्न सक्दैन, काँग्रेसलाई वलियो वनाउन आम कार्यकर्ताले व्यक्तिगत एवम् गुटगत स्वार्थबाट माथि उठेर काम गर्नुपर्छ।’

वाइडवडी प्रकरण, विना टेण्डर बुढिगण्डकी आयोजना सुम्पने काम, फोर-जी काण्डलगायत भ्रष्टाचार काण्डले सरकार चौतर्फी भ्रष्टाचारमा लिप्त रहेको प्रमाणित हुने बताउँदै उहाँले प्रश्न गर्नुभयाे, ‘सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको देख्दा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आवाज किन कमजोर भैरहेको छ ?’

दुई तिहाई बहुमतको शक्तिशाली सरकार चौतर्फी असफल भैरहेको छ, नेपाली काँग्रेस कही वोल्दैन किन भन्ने प्रश्न गर्दै काँग्रेसले सरकारको प्रजातन्त्र र जन विरोधी कामका विरूद्ध आक्रमक भएर प्रस्तुत हुन जरूरी रहेको कुरामा जोड दिनु भयो ।

This image has an empty alt attribute; its file name is IMG_5741-768x576.jpg

विचार गोष्ठी सम्वोधन गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति, रौतहटका सभापति एवम् पूर्व साँसद कृष्ण यादवले रौतहट जिल्लामा पार्टीका सबै साथीहरूलाई समेटेर लैजाने प्रयास भैरहेको छ, संगठन वलियो भए मात्र सबैले अवसर पाउने हो, मलाई असहयोग गर्दा पार्टीलाई नै नोक्सान हुन्छ, यसो नगर्न सबैलाई आह्वान गर्नुभयो ।

नेपाली काँग्रेसका नेता एवम् रौतहटबाट संघीय संसदका साँसद देवीप्रसाद तिमल्सिनाले निर्वाचनका वेला कार्यकर्ता राम्रोसंग परिचालन हुन नसके कै परिणाम पार्टीको पराजय भएको, पराजय कै कारण सँसदमा काँग्रेसको उपस्थित कमजोर छ, जसले गर्दा सँसदमा काँग्रेसले सशक्त भूमिका खेल्न नसकिरहेको स्वीकार गर्दै पार्टीमा आमूल सुधार र परिवर्तनको खाँचो रहेको कुरामा जोड दिनु भयो ।

गोष्ठीको प्रारम्भ केन्द्रका संयोजक रविनचन्द्र कोइरालाले स्वागत मन्तव्य र वीपी विचार राष्ट्रीय समाज, मकवानपुरका सभापति एवम् स्थानीय वुद्धिजिवी विनोदचन्द्र कोइरालाले गोष्ठीको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।