उपमेयरकाे नेतृत्वमा भजनी नगरपालिकामा तालाबन्दी, नगर सभा प्रभावित

कैलाली । कैलालीको भजनी नगरपालिकामा उप-प्रमुख छाया देवकोटा सहित वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । योजना नै नबनाई बजेट पारित गरेर नगर सभा आयोजना भएपछि तालाबन्दी गरिएको उपप्रमुख देवकोटाले बताइन् ।नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगरसभा आयोजना गरेको भन्दै उप-प्रमुख देवकोटा ३ वडाका वडाध्यक्ष र ९ जना वडासदस्यहरुले विरोध गरेका हुन् ।

उप-प्रमुख देवकोटासहितका वडा नम्बर १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले सोमबार बिहान तालाबन्दी गरेका हुन् । उनीहरुले आइतबारको कार्यपालिका बैठक पनि बहिस्कार गरे । नगर प्रमुखले राखेको प्रस्तावमा बहुमतले जर्वजस्ती निर्णय गर्न खोजिएको भन्दै उनीहरुले माइन्युट समेत कब्जा गरका थिए।थापा र बुढा एमालेका हुन भने चौधरी जसपाका हुन्।

बिज्ञापन

१० बजे नगरसभा आयोजना गरिएको भए पनि तालाबन्दी पछि नगरसभा प्रभावित भएको छ । माओवादीबाट उपप्रमुखमा निर्वाचित देवकोटा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेर पदमुक्त बनाएको थियो । तर, १८ असारमा सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।
पुनर्बहाली पछि पनि नगरप्रमुखले अधिकार दिन आनाकानी गरेर सर्वोच्च अदालतको मानहानी गरेको उनले बताइन् ।