मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको निधन

दमक /  मकवानपुरमा भएको एक मोटरसाइकल दुर्घटनामा परी एक विद्यालयका प्रधानाध्यापकको निधन भएको छ। राक्सिराङ गाउँपालिका अन्तर्गतको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार झाको गएराति दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शुक्रबार राति करिब ११:२० बजे हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्तीरोडमा पूर्व–पश्चिम लोकमार्गमा दुर्घटना भएको हो। झा ना ४३ प ४५१८ नम्बरको मोटरसाइकलमा बुद्धचोकबाट थानाभञ्ज्याङतर्फ गइरहेका बेला दुर्घटनामा परेका थिए।

बिज्ञापन

घटनाको जानकारी पाएपछि ट्राफिक प्रहरीसहितको टोली तत्कालै घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्यामू अर्यालका अनुसार, ४५ वर्षीय झालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा राति ११:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

झाको स्थायी घर धनुषा जिल्लामा रहेको प्रहरीले जनाएको छ।  विद्यालय प्रमुख झाको असामयिक निधनपछि राक्सिराङ गाउँपालिकाले शुक्रबार एक दिनको शोक बिदा घोषणा गरेको छ। पालिकाभित्रका सम्पूर्ण विद्यालयहरू बन्द गरिएका छन्।