
काठमाडौं – मुलुककै ठूला वाणिज्य बैंकमध्ये एक एनआईसी एशिया बैंक लिमिटेड आन्तरिक अस्थिरता र नेतृत्वको अकर्मण्यताका कारण गहिरो संकटमा परेको छ। बैंकका सीईओ रोशन कुमार न्यौपानेको विवादास्पद कार्यशैली र फितलो व्यवस्थापनका कारण बैंकको वित्तीय हैसियत धरासायी हुन थालेको छ।

२०७९ कात्तिक १६ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका न्यौपानेको नेतृत्वमा बैंक झन् गम्भीर संकटमा फसेको देखिएको छ। बैंक स्रोतका अनुसार, उनको दम्भपूर्ण व्यवहारका कारण वरिष्ठ डेपुटी सीईओदेखि लिएर दर्जनौं अनुभवी कर्मचारीले राजीनामा दिइसकेका छन्। मिडिया व्यवस्थापन असफल भएको भन्दै उनले एक महिनामै तीन विभागीय प्रमुख हेरफेर गरेका छन्, तर परिणाम झनै नकारात्मक देखिएको छ।



न्यौपानेमाथि बैंकभित्र ‘मनपरी’ गर्ने, कानुनी मापदण्डविपरीत निर्णय लिने र आन्तरिक शासन प्रणाली ध्वस्त बनाउने गम्भीर आरोप लागेको छ। बैंकका डेपुटी सीईओ सन्तोष राठीको निर्देशनमा सञ्चार माध्यमसँग सहकार्य गर्न खोज्ने तर खाता खोल्न बाध्य पार्ने र गोप्य दस्तावेज माग्ने जस्ता अलोकतान्त्रिक कार्यबाट व्यवस्थापन थप विवादित बनेको छ।

बैंकको दुरवस्थालाई लिएर नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीईओ न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवालसहित सञ्चालकहरूलाई कारबाही गरे पनि न्यौपानेले ‘राजीनामाको आश्वासन’ दिँदै उन्मुक्ति पाएका थिए। राष्ट्र बैंकले ‘नसिहत’ मात्र दिएर छोड्दा बैंकभित्र अनुशासन र जवाफदेहितामा थप क्षति पुगेको हो।
बैंकले तेस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, नाफा झन्डै १०० प्रतिशतले घटेको छ। झन्डै ४ अर्ब घाटामा रहेको बैंकको वितरणयोग्य नाफा ऋणात्मक ३ अर्ब ५६ करोड पुगेको छ। यद्यपि बैंकले खराब कर्जा १.९२ प्रतिशत मात्रै देखाएको छ, राष्ट्र बैंक स्रोतहरूका अनुसार वास्तविक अनुपात २० प्रतिशतभन्दा बढी छ।
सीईओ न्यौपाने हाल क्याप्टेन रामेश्वर थापाको निजी कम्पनीमा ३० प्रतिशत साझेदारी लिएको पुष्टि भएको छ। बैंक संचालन समितिका सदस्यहरूलाई दबाब दिँदै उनले बैंक छोड्ने धम्की दिएर उक्त कम्पनीमा साझेदार बनेका हुन्। त्यति मात्र होइन, उनले बैंकका सञ्चालक र तिनका नातेदार संस्थाहरूलाई उच्च ब्याजदरमा मुद्दती निक्षेप सुविधा दिएर आम ग्राहकको निक्षेपको दुरुपयोग गरिरहेका छन्।
बोर्ड मिटिङका दिन मात्र कार्यालय आउने न्यौपाने दिनभर आफ्नै कम्पनीका काममा व्यस्त हुने गरेको बैंक स्रोत बताउँछ। कर्मचारीलाई बिहान ७ बजे ड्युटी सुरु गर्न बाध्य पार्ने तर उनी स्वयं कार्यालयमा नबस्ने गरेको गुनासो बढ्दो छ। “हामीलाई १६ घण्टा काममा लगाएर उनी सञ्चालकको स्याबासी खान तल्लीन छन्,” एक उच्च व्यवस्थापन कर्मचारीले भने।
हाल सीईओ न्यौपानेविरुद्ध बैंकभित्रै विद्रोह चर्कँदै गएको छ। उनीप्रति न त कर्मचारीहरूको विश्वास बाँकी छ, न त ग्राहकको भरोसा। स्रोतहरूका अनुसार, बैंकका सञ्चालकहरू समेत न्यौपानेबाट आजित भइसकेका छन्, तर सम्झौता र गुटबन्दीको चक्रव्यूहले निष्कर्ष निस्कन सकेको छैन।
यदि अब पनि व्यवस्थापन नेतृत्वमा आमूल परिवर्तन नगरिए बैंकको अस्तित्व नै संकटमा पर्ने जोखिम प्रस्ट देखिएको छ।