भारतले उत्पादन गर्‍यो पाठेघरे क्यान्सरविरुद्धको खोप

एजेन्सी । सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा पहिलोपटक पाठेघर क्यान्सरविरुद्धको खोप एचपीभी (ह्युमन प्यापलोमा भाइरस खोप) उत्पादन गरेको छ ।

यो खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने चिकित्सकहरूले बताएका छन् । सिरम संसारको सबैभन्दा ठूलो खोप उत्पादनकर्ता पनि हो ।

बिज्ञापन

विश्वमा सबैभन्दा धेरै क्यान्सर देखिनेमा पाठेघर क्यान्सर चौथो नम्बरमा पर्दछ । विश्व स्वस्थ्य संगठनको सन् २०२० को रिपोर्टअनुसार वार्षिक ६ लाख ४ हजार नयाँ केस देखिने र ३ लाख ४२ हजार मृत्युको हुने देखाएको छ । ९० प्रतिशत नयाँ केस तथा मृत्यु निम्न आय भएका राष्ट्रहरूमा देखिएको छ ।

ह्युमन प्यापिलोमा भाइरसको प्रकार १६ र १८ ले कम्तीमा ७० प्रतिशत पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना बढाउँछन् । भारतको डिपार्टमेन्ट अफ बायोटेक्नोलोजीका अनुसार भारतमा उत्पादित उक्त खोपले एचपीभीको प्रकार १६, १८ र ६ तथा ११ लाई पनि काम गर्नेछ ।

कम्पनीका प्रमुख कार्यकारी अदार पुनावालाका अनुसार आफ्नै देशमा उत्पादित यो खोपले पाठेघर क्यान्सरबाट महिलाहरुको मृत्यु हुने रोक्नेमा सहयोग पुर्याउने छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सबै महिलाहरु पाठेघर क्यान्सरको जोखममा हुन्छन् । विशेषत ३० कटेकोमा यो जखिम बढी हुन्छ ।

नेसनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनाइजेसनका अध्यक्ष डा.आरएन अरोराले भारतमा यो खोप उत्पादित हुनु खुसीको कुरा भन्दै भविष्यमा ९ देखि १४ वर्षका किशोरीहरुका लागि राष्ट्रिय खोप तालिकामा पनि यो खोप समावेश होला भन्ने आशा व्यक्त गरेका छन् ।