बीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनकारीहरूको जायज मागको अविलम्ब

बीपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनकारीहरूको जायज मागको अविलम्ब सम्बोधन गर्न विश्वविद्यालयहरूका पूर्व उप कूलपतिहरूले सरकारसँग माग गरेका छन् । यति लामो समयसम्म पनि आन्दोलनकारीहरूको मागहरूप्रति सरकार संवेदनशील नहुनु अत्यन्त दुर्भाग्यको कुरा भएको उनीहरूको भनाइ छ ।

पूर्व उपकूलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीन प्रकाश जङ्ग शाह, तोरणबहादुर कार्की, अर्जुन कार्की, कैलाशनाथ प्याकुरेल, हिराबहादुर महर्जन, खगेन्द्र भट्टराई, जयराज अवस्थी र नरेशमान बज्राचार्यले विज्ञप्ति जारी गर्दै  सरकारको उदासीनता प्रति दुःख व्यक्त गरेका हुन् । उनीहरूले अविलम्ब आन्दोलनकारी शिक्षक र विद्यार्थीहरूको माग सम्बोधन गरी प्रतिष्ठानको शैक्षिक एवं चिकित्सा सेवा अविलम्ब सुचारु गर्न माग गरेका छन् ।

बिज्ञापन

प्रतिष्ठानको शुद्धीकरणको माग राखी गरिरहेको आन्दोलनले आज ८५ दिन पूरा गरेको छ । प्रतिष्ठानभित्र भइरहेको आर्थिक अनियमितता, पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सुधार र प्रधानमन्त्री र डा. गोविन्द के.सी.बीच भएको सम्झौता कार्यान्वयन आदि माग राखी भइरहेको आन्दोलन झन्डै तीन महिना पुग्न लागेको हो । आन्दोलनको दौरानमा छानबिन समितिको गठन, समितिबाट प्रतिवेदनको प्रस्तुतीकरण र आन्दोलनको ५० सौँ दिनमा आन्दोलनकारी तथा सरकारबीच भएको ६ बुँदे सम्झौता आदि केही महत्त्वपूर्ण कामहरू भए पनि तिनीहरूको कार्यान्वयनमा भने सरकार पूर्णतया उदासीन देखिएको उनीहरूको भनाइ छ ।