आफ्नो चरित्र हत्या गरिएको भन्दै एमाले नेता बस्नेतद्वारा उजुरी दिने तयारी

काठमाडौं। सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै नेकपा एमालेका नेता पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले उजुरी दिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ ।

माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उजुरी दिने तयारी भएको बस्नेतको सचिवालयले जनाएको छ ।

बिज्ञापन

अहिले फेसबुकमा सेयर भइरहेको भिडियो गत स्थानीय चुनावका क्रममा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै कार्यकर्ताबीच भएको विवादको भिडियो भएको बस्नेतले उल्लेख गरेका छन्।

उक्त विवादको भिडियोलाई माओवादी केन्द्रका केही व्यक्तिहरूले महेश बस्नेतलाई कुटपिट गरेको झुटो प्रचार गरेको भन्दै  बस्नेतले आपत्ति जनाएका छन्।