ओमकार बिशेष : सरकार ! मैले नागरिकता कहिले पाउछु ?

दमक । नेपालमा पैसा लिएर नागरिकता बाडेको घटनाहरु सार्वजनिक नभएका हैनन् । संचार माध्यममा बेला बेलामा ०६२/६३ पछाडि ६० लाख गैर नेपालीलाई नागरिकता बाडिएको कुरा सार्वजनिक हुने गरेका छन् । तर झापामा एक सन्थाल समुदायकी बृद्धा जीवनको अन्तिम चरणमा पनि नागरिकता बिहिन भएकि छिन् ।


गाला चाउरिएकि , बृद्ध अबस्थाले शरीर गलेकी , आफैलाई आफ्नो उमेर थाहा नभएकी , हेर्दा ८०/८५ बर्षको देखिने हिन्दीया मुर्मूको मात्र नभई उनको पिताको जन्म पनि झापाको कमल गाँउपालिका वार्ड नम्बर १ स्थित लाफाती भन्ने ठाउमा भएको हो ।अहिले पनि उनी कमल गाँउपालिका वार्ड नम्बर १ कै गौरादह नगरपालिकाको सिमाना किस्नी खोलाको डिलमा रहेको सुकुम्बासी बस्तीमा बसोबास गरिरहेकी छिन् ।

बिज्ञापन

गौरादह बजारको एक होटलमा भाडा माझ्ने काम गर्दै जीवन गुजारा गरिरहेकी हिन्दीयाको बाबु आमा सानैमा बिते ।आमा बाबु सानैमा गुमाएकी हिन्दीयाका क्रमैसंग दुइजना भाइ पनि बिते उनको एकजना दाजु पनि बिते । तीनजना दिदी बैनी मध्ये दुईजना पनि बिते । रहेकी एकजना दिदीले उनलाई हुर्काउदै आइन् । केही समयको अन्तराल पछि संसारमा आफ्नो भन्ने रहेकि एक्ली दिदी पनि बितेपछि हिन्दीया एक्ली भइन् ।

जीवनका धेरै आरोह अवरोह पार गरेकी हिन्दीयाले बिहे गरिन् , ४ जना छोराछोरीलाई जन्म दिइन् तर पनि उनी अहिले जीवनको उत्तरार्धसम्म आइपुग्दा पनि अनागरिक भएर जीवन बिताई रहेकि छिन् ।

त्यसो त हिन्दीयाले नागरिकता बनाउने पहल नगरेकी हैनन् । पटक पटक नागरिकता बनाउन सम्बन्धित निकायमा धाएकी हिन्दीयालाई माइतीपक्षबाट सनाखत गर्ने मान्छे नभएको र जन्म सम्बन्धि अन्य कागज नभएको भनेर फर्काइयो । स्थानीय नेतालाई , वार्ड अध्यक्षलाई पटक पटक हार गुहार गर्दा पनि नागरिकता नबनेपछि अहिले उनि नागरिकता बन्ने आश मारेर बसेकी छिन् ।

ओमकार टाइम्स प्रतिनिधिसंग कुरा गर्दै आँखाको डिलसम्म टिलपिलाएका आँसु पुछ्दै हिन्दीया भन्छिन् ` नागरिकता बनेको भए सरकारले दिने बृद्ध भत्ताबाट जिन्दगी चलाउन सजिलो हुनेथियो तर अब नागरिकता बन्छ भन्ने आश नै मर्यो ।´

नेपालमा तराईका विभिन्न स्थानमा छरिएर रहेका सन्थाल समुदाय नेपालको प्राचीन समुदाय हो । जुन समुदाय नेपलमा आदिवासी जनजातिको परिभाषा भित्र अटाउने समुदाय भित्र पर्दछ । नागरिकता विधेयकलाई बेला बेलामा संशोधन गरेर गैर नेपालीलाई राज्यबाट नागरिकता दिएको कुराहरु घाम जत्तिकै छर्लंग हुदा पनि प्रमाणको अभाब देखाएर पुस्तौंपुस्ता नेपालको जमिनमा शालनाल गाडिएका मान्छेलाई नागरिकता बिहिन बनाएर राज्यले दिएको सेवासुबिधाबाट विमुख बनाउनु कत्तिको न्याय संगत होला ?

हिन्दीयालाई सायद ओमकार टाइम्स प्रतिनिधि कुनै सरकारी निकायबाट उनलाई नागरिकता दिन आएको भन्ने लागेर होला ओमकार टाइम्स प्रतिनिधिसंग छुट्नेबेलामा आश र आँसु मिश्रित हेराइसंगै प्रश्न गरिन ` तपाईं सरकारको मान्छे हो ? मैले नागरिकता कहिले पाउछु ? ´ उनको यो उत्तर नभएको प्रश्नले ओमकार टाइम्सको मन छोयो अब हेरौं सरकारको मन छुन्छ कि छुदैन ?