मदरसामा  कार्यरत एक दर्जन शिक्षकहरू तलब नपाएपछि आन्दोलित

विराटनगर /  विराटनगर–१३ स्थित ताजुल ईस्लाम नमुना आधारभुत विद्यालय (मदरसा) मा कार्यरत एक दर्जन शिक्षकहरू तलब नपाएपछि आन्दोलित भएका छन् । १२ जना शिक्षकहरुले विगत २ वर्षदेखि तलब नपाएपछि आन्दोलित भएका हुन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजन गर्दै उनीहरुले विगत २ वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । ‘मदरसामा पढाएको दुई वर्ष पुरा भयो, शिक्षक गायत्री ठाकुरले भन्नुभयो, ‘हालसम्म तलब पाएको छैैनौं, अहिले पनि नियमित विद्यालयमा पढाउन भने जाने गरेका छौं ।’

पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले अब विराटनगर महानगरपालिका घेराउ गर्दै चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । महानगरपालिका अन्तर्गत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हैदर अली आएपछि मदरसामा सो समस्या उत्पन्न भएको विद्यालयमा कार्यरत शिक्षिकशिक्षिकाहरुले बताएका छन् । उनीहरुले तलब नपाउँदा सिर्जित समस्या लिएर महानगरपालिकाको शिक्षा महाशाखा प्रमुखलाई गुर्हादा समेत तलब नपाईएको गुनासो गरेका छन् ।

बिज्ञापन

विद्यालयमा अध्यापन गराउने अधिकांश शिक्षकशिक्षिकाहरु विराटनगरमा कोठा भाडामा लिएर बस्ने गरेका छन् । समयमै तलब नपाउँदा उनीहरुलाई खान बस्न समेत समस्या हुने गरेको छ । मदरसामा नियुक्ति भएको चार बर्षमा शिक्षिका गायत्री ठाकुरले मात्र ९० हजार तलब पाएको बताउनुभयो ।

यस्तै शिक्षक काजल विश्वकर्माले विगत ३ बर्षको अवधिमा नियमित अध्यापन गराए बापत मात्र ६० हजार तलब पाएको गुनासो गर्नुभयो । मासिक १४ हजार पारिश्रमिक पाउने गरी काम सुरु गरेको भएपनि हालसम्म पुरा तलब नपाएको गुनासो शिक्षिकशिक्षिकाहरुकोे छ ।

मदरसाको खातामा अनुदान बापत आएको रकममध्ये पनि व्यवस्थापन समितिका अध्यक्ष हैदर अलि र प्रधानअध्यापक मोहम्मद जावीदले ५ लाख रुपैयाँ झिकेर लगेपछि १२ जना शिक्षकहरुको तलब नपाएको उनीहरुको आरोप छ । व्यवस्थापन समितिको अध्यक्षबाट निष्कासन गरिएको अली र जावीदले विद्यालयको खाताबाट अवैधमा रुपमा रकम निकालेपछि शिक्षकलाई तलब खुवाउन समस्या भएको हो ।

२०७६ साल मंसिर १९ गतेको अभिभावकहरुको भेलाले हैदरलाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको थियो । तर हैदर विद्यालयको कुनै पनि बैठकमा उपस्थित नहुने भएकाले शिक्षा नियमावली अनुसार अभिभावकहरुको भेलाले नै उनलाई गत वर्षको माघ २८ गते व्यवस्थापन समितिको अध्यक्ष बाट बर्खास्त गरेको थियो ।