पिपिई जोगाउन टेकुका डाक्टर र नर्स २४सै घन्टा ड्युटीमा

काठमाडौं : देशमा खरिद–बिक्री, ठेक्कापट्टा, भ्रष्टाचार र छानबिनको आफ्नै कथा छ, तर त्यो कोलाहलकै बीच स्वास्थ्यकर्मीहरू संक्रामक रोगको उपचारमा दिनरात खटिरहेका छन् । कोरोनाविरुद्धको संघर्षमा अग्रपंक्तिमा यी योद्धाहरू २४सै घन्टा ड्युटीमा छन्, किनकि उनीहरूलाई आठ–आठ घन्टामा फेर्ने पिपिई छैन ।

 

बिज्ञापन

अहिले देशमा सबैभन्दा बढी सुनिएको शब्द हो पिपिई अर्थात् व्यक्तिगत सुरक्षा उपकरण । तर, यो देशमा सबैभन्दा बढी अभाव पनि त्यसैको छ । त्यसैले कोरोना उपचारका लागि समर्पित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका स्वास्थ्यकर्मी २४ घन्टा ड्युटीमा खटिएका छन् ।

 

टिम नयाँ पत्रिका टेकु अस्पताल पुग्दा डा. श्रवणकुमार मण्डल स्वास्थ्यकर्मी र कर्मचारीका लागि दिउँसोको खाजा व्यवस्थापन गर्न तल्लीन थिए । उनीहरूको खाना, खाजा अस्पतालमै हुन्छ, दिनरात अस्पतालमै बित्छ ।

 

नेपालमा कोरोना संक्रमण देखिनुअघि अस्पतालका स्वास्थ्यकर्मी बिहान, बेलुका र राति गरेर तीन सिफ्टमा काम गर्थे । ‘तर, अहिले हामी २४सै घन्टा ड्युटी गरिरहेका छौँ । २४ घन्टे ड्युटीले पिपिई जोगाएको छ,’ डा. मण्डलले भने, ‘सिफ्ट फेर्‍यो भने हरेक सिफ्टका स्वास्थ्यकर्मीलाई नयाँ पिपिई चाहिन्छ । तर, २४ घन्टा एकजनाले ड्युटी गर्‍यो भने एउटा मात्र पिपिईले पुग्छ, किनकि हामीलाई बिरामीको ज्यानसँगै पिपिई पनि जोगाउनुपर्ने चुनौती छ ।’

 

अस्पतालमा अहिले ३९ जना डाक्टर खटिएका छन् । आकस्मिक कक्ष, फिभर क्लिनिक, क्वारेन्टाइन, आइसोलेसन र आइसियूजस्तो व्यस्त सेवामा उनीहरू अथक रूपमा खटिरहेका छन् । पिपिई मात्र होइन, मास्क पनि जोगाउनुपर्ने आवश्यकता भएको बताउँछिन् डा. सृष्टि नेपाल । आकस्मिक कक्षमा खटिएकी डा. नेपाल भन्छिन्, ‘हामीसँग पिपिई मात्र होइन, मास्क पनि पर्याप्त छैनन्, त्यसैले एकैजनाले लामो ड्युटी गरेर पिपिई र मास्क जोगाउने निर्णय गरेका हौँ ।’

 

२४ घन्टाको ड्युटीपछि स्वास्थ्यकर्मीले एक दिन आराम गर्न छुट्टी पाउँछन् । तर, जाने कहाँ ? घरमा जान, परिवारसँग घुलमिल गर्न उनीहरू डराउँछन् । त्यसमाथि घरभाडामा बस्ने डाक्टर र नर्सलाई घरबेटीले निषेधको मनोविज्ञान सिर्जना गरिसकेका छन् । त्यसैले कतिपय स्वास्थ्यकर्मी घर नगई अस्पतालमै बसिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा छ ।