
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् । जसमध्ये ७४ महिला ४६१ जना पुरुष रहेका छन् ।



योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार ५६१ पुगेको छ ।

जसमा ८९४ महिला र ८ हजार ६६७ जना पुरुष रहेका छन् । योसँगै बाग्मती प्रदेशको रसुवाभन्दा बाहेकका जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
बितेको २४ घण्टामा ३७० जनाले जिते कोरोना
बितेको २४ घण्टामा ३७० जना संक्रमित कोरोनाभाइरस मुक्त भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विशेष अस्पताल रुपन्देहीबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालीकोट अस्पतालबाट २८ जना, दैलेख अस्पतालबाट २६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पतालबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना गरी कूल ३७० जना निको भएका छन् । जसमा ३२ महिला र ३३८ पुरुष रहेका छन् ।
योसहित हालसम्म २ हजार १४२ व्यक्तिले कोरोना जितेका छन् । जसमा १६१ महिला र १ हजार ९६१ जना पुरुष रहेका छन् ।