
म्याड्रिड : स्पेनिस पावर हाउस बार्सिलोनालाई सेभिल्लाको नमीठो झट्का लागेको छ। ला लिगाअन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको टोली बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको हो। यस बराबरीले उपाधि दौडमा रहेको रियल म्याड्रिडलाई थप फाइदा पुगेको छ।

घरेलु मैदानमा सानदार प्रदर्शन गरेको सेभिल्लाले बार्सिलोनालाई बलियो टक्कर दिएको थियो। बार्सिलोनाको लगातार प्रयासमा सेभिल्लाको रक्षापंक्ति बाधक बनेको थियो। कप्तान लियोनल मेसीले उत्कृष्ट अवसर पाए पनि गोल गर्न सकेनन्। मेसीलाई अब खेल जीवनको सात सयौं गोल पूरा गर्न अर्को खेल कुर्नुपर्ने भएको छ।



प्रतिस्पर्धात्मक खेलमा सेभिल्लाले पनि राम्रो मौका गुमाएको थियो। १२औं मिनेटमा जुलेस कोउन्डेको प्रहार बाहिरिएपछि घरेलु टोलीले अग्रता लिन सकेन। २१औं मिनेटमा मेसीको फ्रिकिक प्रहारलाई सेभिल्लाका रक्षकले विफल पारिदिएका थिए। लगत्तै इभान राकिटिकको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए। दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्ने उत्कृष्ट अवसर खेर फालेका थिए।

६०औं मिनेटमा सेभिल्लाका लुकास ओकाम्पस पोस्ट नजिक चुकेका थिए। ७२औं मिनेटमा कप्तान मेसीको करिब २५ यार्ड लामो फ्रिकिक प्रहारलाई सेभिल्लाका गोलरक्षकले सजिलै बचाएका थिए। ८८औं मिनेटमा लुइस स्वारेजको पोस्ट नजिकको सशक्त प्रहार बाहिरिएपछि बार्सिलोना अंक बाँड्न बाध्य बन्यो। इन्जुरी समयमा सेभिल्लाका सर्जियो रेगुइलोनले पोस्ट नजिक पाएको वान भर्सेस वानको मौका गुमाएका थिए।
बराबरीसँगै ३० खेल सकेको बार्सिलोनाले ६५ अंक बनाएको छ। साविक विजेता बार्सिलोना एक खेल कम खेलेको रियल म्याड्रिडभन्दा तीन अंकले अगाडि छ। दोस्रो स्थानमा रहेको रियलको ६२ अंक छ। बार्सिलोनासँग अंक खोसेको सेभिल्ला ५२ अंकसहित तेस्रो स्थानमा छ।
यसैगरी शुक्रबार राति नै भएको अर्को खेलमा भिल्ला रियलले ग्रानाडालाई उसैको मैदानमा १–० गोलले हरायो। भिल्ला रियलको जितमा जेराड मोरेनो नायक बने। जेराडले ११औं मिनेटमा गरेको गोल नै पाहुना टोलीको जितमा पर्याप्त बन्यो। जितसँगै ३० खेलबाट ४७ अंक बनाएको भिल्ला रियल सातौं स्थानमा छ। समान खेलबाट ४२ अंक बनाएको ग्रानाडा नवौं स्थानमा छ। अर्को खेलमा रेलिगेसनको मारमा रहेका लेगानेस र मालोर्काले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।