
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन देशका लागि काउन्सिलर (श्रम) र पाँच देशका लागि श्रम सहचारीहरूको छनोट गरेको छ ।




मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि काउन्सलर श्रम र यूएई, ओमान, मलेसिया, कुवेत र साउदी अरबका लागि श्रम सहचारी छनोट गरेको हो ।

मन्त्रालयले दक्षिण कोरियाका लागि रमा भट्टराई निरौला, कतारका लागि कृष्णप्रसाद खनाल र मलेसियाका लागि दीपक ढकाल काउन्सलर (श्रम) छनोट भएका छन् । भट्टराई हाल सामाजिक सुरक्षा कोष बबरमहल, खनाल वैदेशिक रोजगार विभाग र ढकाल मन्त्रालयमै कार्यरत छन् । उनीहरू सबै सरकारका उपसचिव हुन् । उपसचिव कवीन्द्र नेपाल प्रतीक्षा सूचीमा परेका छन् ।
त्यसैगरी, प्रमिला केसी यूएई, दिनेश ढकाल ओमान, प्रकाश पन्थी मलेसिया, विपना ज्ञवाली कुवेत, प्रेम उपाध्याय साउदी अरबका लागि श्रम सहचारी छनोट भएका छन् । उनीहरू सबै शाखा अधिकृत हुन् । श्रम सहचारीको प्रतीक्षा सूचीमा वैदेशिक रोजगार विभागमा कार्यरत बाबुराम घिमिरे र मन्त्रालयमै कार्यरत हेमकुमार अधिकारी छन् ।
काउन्सिलर र सहचारी काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तसम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ मन्त्रीस्तरीय निर्णयबाट उक्त छनोट भएका हुन् ।