नेपालको अर्थतन्त्रमा खतराको सङ्केत

काठमाडौं, २४ फागुन । नेपालमा ठूलो आर्थिक सङ्कट आउने खतरा बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती घट्दै गएको जनाइसकेको छ । राष्ट्र बैंकले खतराको सङ्केतहरू गरिसकेको छ ।

निर्यातभन्दा आयात अत्याधिक बढी हुँदा मुलुक नै टाँट पल्टने खतरा बढेको हो । रुसले युक्रेनमाथि हमला गरेपछि पेट्रोलियम पदार्थको मूल्य आकाशिन गई विदेशी मुद्रा अत्याधिक बाहिरिने क्रम बढेको छ । नेपाल आयल निगमले मासिक साढे २६ लाख इन्डियन आयल कर्पोरेशनलाई बुझाउन थालेको जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य १०० डलर नाघ्दा यो स्थिति आएको हो । युद्ध लम्बिदै गएमा झन् मूल्य वृद्धि हुने आकलन गरिएको छ ।

बिज्ञापन

अमेरिकाले रुसी तेलमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिका र यूरोपेली युनियनले त्यस्तो निर्णय लिएमा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ३०० डलर पुग्नेछ । यो अवस्थामा नेपालले अहिलेको भन्दा दोब्बर बढी रकम तेल र ग्यास आयातमा खर्चनुपर्ने हुन्छ ।

मासिक ५० अर्ब तेल र ग्यास आपूर्तिमा खर्चदा वार्षिक ६ खर्ब हुन आउँछ । यो अवस्था आएमा भयावह अवस्था आउँछ ।

देशमा कृषि उत्पादन घट्दा परनिर्भरता बढेको छ । खाने तेल, चामल, दाल जस्ता अत्यावश्यक सामग्री अत्याधिक आयात हुन थालेका छन् । यसमा पनि मूल्य वृद्धि भइरहेको छ । यसले देशको पैसा अझ बढी बाहिरिने अवस्था बन्न सक्छ ।

सुनको मूल्य प्रतितोला एक लाख नाघिसकेको छ । सुन आयातको परिमाण घटाएर दैनिक १० केजी बनाइएको छ । सुन आयातमा पनि रकम बाहिरिने गर्छ । मूल्य बढ्दा विगतभन्दा बढी रकम बाहिरिनसक्छ ।