लकडाउनको अवधिमा मात्रै ४० अर्बको अति आवश्यकीय वस्तु आयात

काठमाडौं । नेपालमा बन्दाबन्दी ९लकडाउन०को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ ।

 

बिज्ञापन

उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपियाँ बराबरको अति आवश्यकीय वस्तु नेपाल भित्रिएको हो ।

 

मन्त्रालयका अनुसार नेपालमा लकडाउनमा अति आवश्यकीय वस्तु भारतबाट मात्रै नभएर चीनबाट समेत भित्र्याएको छ ।

 

यस अवधिमा नेपाल भित्रिएको अति आवश्यकीय वस्तुमध्ये चीनको तातोपानी नाकाबाट चार करोड ६२ लाख ४७ हजार रुपियाँ बराबरका र अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ११ करोड ४४ लाख ३९ हजार रुपियाँ बराबरको औषधिको कच्चा पदार्थ र तयारी औषधि भित्रिएको छ ।

 

बाँकी सबै भारतबाट भित्रिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अवधिमा खाद्यान्न, दलहन, गेडागुडी, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, औषधिको कच्चा पदार्थ, तयारी औषधि, एलपी ग्यास, पेट्रोल, डिजेललगायतका सामान भित्रिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।