

काठमाडौं । मेलम्चीको पानी काठमाडौंसम्म ल्याउन राखिएको भाका पटक–पटक सरेको छ । पछिल्लो खानेपानी मन्त्री बिना मगरले राखेको भाका पनि पूरा भएन । बरु, ठेकेदार कम्पनी सीएमसी नै आयोजनाबाट बाहिरियो । त्यसयता आयोजनाको काम ठप्प छ ।




ठेक्का लिएको इटालियन कम्पनी सीएमसी काम छोडेर बाहिरिएपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आइपुग्न अझैं कम्तिमा डेढ वर्ष लाग्ने भएको छ । करिब ५ वर्षसम्म काम गरेको सीएमसी बाहिरिएसँगै आयोजना काम ठप्प छ । भूकम्प र नाकाबन्दीका कारण ब्यहोरेको क्षति दावी गर्दा सरकारले नदिएपछि सीएमसीले ठेक्का सम्झौता नै तोडेको थियो । मेलम्ची खानेपानी विकास समिति बाँकी काम गराउन नयाँ ठेकेदार चयन गर्ने प्रक्रियामा छ ।

मेलम्ची आयोजनामा बाँकी रहेका मुख्य काम
- – मेलम्ची खोलामा बाँध र इन्टेक निर्माण
- – तीन स्थानमा निर्माण गरिएका अडिट टनेलमा गेट जडान
- – मुख्य सुरुङको ‘फिनिसिङ’
- – सुरुङभित्र पानी बगाउने
- – सुन्दरीजल–पानी प्रशोधन केन्द्रको भागमा पाइप जडान
- – टनेल ‘मनिटरिङ सिस्टम’ जडान
- – काठमाडौंभित्र जडान गरिएका संरचनाको परीक्षण
आयोजनामा गर्नुपर्ने महत्वपूर्ण काम बाँकी रहँदा सरकारी अधिकारी भने ठेक्का लागेको ६ देखि ९ महिनामा बाँकी काम सकिने दावी गर्छन । तर, अहिलेसम्म नयाँ ठेकेदार चयन गरिएको छैन् । नयाँ ठेक्का लाग्न पनि कम्तिमा ३ महिना लाग्छ । आयोजना चाँडै सक्न समिति ‘प्याकेजिङ’मा काम गराउने योजनामा छ ।
आर्थिक वर्ष २०५५/०५६ मा सुरु गरिएको आयोजना २७ अर्ब खर्चिएर सन् २०१३ मै सक्ने लक्ष्य थियो । तर, हालसम्म धेरै पटक भाका सारिँदा अहिलेसम्म २६ अर्ब खर्च भइसकेको छ । बाँकी कामको समेत खर्च जोड्दा आयोजनामा झण्डै ३२ अर्ब खर्च हुने छ । भाकासँगै व्ययभार थपिँदा काठमाडौंबासीको मेलम्चीको पानी पिउने आकांक्षा पनि क्रमशः टाढिदै छ ।