प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चार वटा मतपत्र हुने, उम्मेदवारको मात्र चुनाव चिह्न राखिने

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको र उम्मेदवारी दिने उम्मेदवारको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ ।

निर्वाचन आयोगका अनुसार चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग अलग मतपत्र हुनेछन् ।

बिज्ञापन

आयोगले यस पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरेर मत्रपत्र छापाई गर्ने सोच बनाएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनमा दलहरुले गठबन्धन गरेपनि दर्ता भएका सबै दलको चुनाव चिह्न छापिएका कारण मतपत्र धेरै ठूलो हुनुका साथै धेरै मत बदर पनि भएको थियो । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको मात्र चुनाव चिह्न राखेमा प्रत्यक्षतर्फ गठबन्धन गर्ने दलहरुलाई सहज हुने देखिन्छ ।