
सुर्खेत : ख्रिष्टियनको छाता संगठन इसाई समाज सुर्खेतले स्थानीय सरकारलाई ५ लाख ३० हजार ४०० सहयोग गरेको छ ।




कोभिड-१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा परेकाको राहत तथा उपचारका लागि भनेर समाजले यहाँका सात वटा स्थानीय तहमा सहयोग गरेको हो ।

इसाई समाजका सुर्खेतका अध्यक्ष रेभ पास्टर पद्म गैरे नेतृत्वको टोलीले नगरपालिकाको विपद कोषमा जम्मा गरेको २ लाख १० हजार ५०० रकम भौचर आज वीरेन्द्रनगर नगरपालिकाको कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरेको छ ।
सो भौचर ग्रहण गर्दै कार्यवाहक प्रमुख ढकालले संकटका बेला सरकारको सहयात्री भएर हिड्ने समाजको नेतृत्वप्रति हार्दिक कृतज्ञता प्रकट गरे । “यो हाम्रा लागि अमूल्य सहयोग हो । यसको उचित उपयोग, व्यवस्थापन तथा परिचालन गरिनेछ,” उनले भने, “वीरेन्द्रनगर नगरपालिकाले पनि यो अकल्पनीय सङ्कटको समाधानका लागि विभिन्न योजना बनाएर अघि बढेको छ ।”
त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले चर्च, मन्दिर, मस्जिदलगायत धार्मिकस्थलमा भएका भोका, समस्या परेकाहरु भए तिनको विवरण दिएर सहयोग पुर्याउन समाजलाई अनुरोध गरे । उक्त विवरणका लागि सरकारलाई सहयोग गर्ने भन्दै समाजका अध्यक्ष गैरेले चर्चले विपन्न, गरिब, समस्यामा परेका र केही अपाङ्गता भएका नागरिकलाई सहयोग गर्दै आएको बताए ।
त्यस्तै, समाजले सु्र्खेतका अन्य स्थानीय सरकारमा लेकबेसी नगरपालिकालाई ६८ हजार, गुर्भाकोट नगरपालिकालाई ६५ हजार ९००, भेरीगङ्गा नगरपालिकालाई ६० हजार र पञ्चपुरी नगरपालिकालाई ५१ हजार सहयोग गरेको उनले जनाए ।
त्यसै गरी, बराहताल गाउँपालिकालाई ५० हजार र चौकुने गाउँपालिकालाई २५ हजार सहयोग गरिएको उनको भनाइ थियो । अध्यक्ष गैरेका अनुसार मानवीयता बचाउन र सामाजिक दायित्व पुरागर्ने ध्येयले सरकारलाई यहाँका ३१ चर्चको सामूहिक सहयोग भएको हो । रासस