
सुनसरी । सनातन युवा मञ्च नेपालको आयोजनामा आज जेठ ६ गते इटहरीमा दिव्य धर्म सभा सम्पन्न भएको छ ।

राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, सांसद तथा राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देन, नेपाली काङ्ग्रेस(बिपि)का केन्द्रीय अध्यक्ष हरिबोल भट्टराई, बिश्व हिन्दु महासंघकि अन्तर्राष्ट्रिय महासचिव अस्मिता भण्डारी, विभिन्न शक्तिपिठका पिठाधिस, बौद्ध धर्मावलम्बीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पुर्वका विभिन्न जिल्लाबाट हजारौं धर्म अनुरागी तथा राष्ट्रभक्तहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सभापति भने भगवान नारायणको मुर्तिलाई बनाइएको थियो।




कार्यक्रममा बोल्दै युवा सन्त श्रीनिवासाचार्यले वर्तमान राजनीतिक माहोल गलत दिशातर्फ गैरहेको चिन्ता व्यक्त गरे । उनले भने,‘अहिले हाम्रो देशको राजनीतिक माहोल गलत दिशातर्फ गैरहेको छ ।’ आफूहरुले आयोजना गरेको धर्म सभा अहिंसात्मक र शान्तिवादी रहेको उनको दाबी थियो।
सांसद तथा राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा क्रिश्चियानिटीलाई प्रोत्साहन गर्ने काम पछिल्लो समय भैरहेकोमा गम्भिर आपत्ति जनाए ।
त्यस्तै, संघीयताको नाममा राष्ट्रलाई विखण्डन गर्ने, शिक्षाको नाममा नेपालको मौलिक भाषा र संस्कृतिलाई नष्ट पार्ने, राजनीतिको नाममा देश र जनतालाई पंगु बनाउनेजस्ता योजनाबद्ध षड्यन्त्र भैरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
यसै अवसरमा बोल्दै महासचिव अस्मिता भण्डारीले सनातन धर्मावलम्बी संग शास्त्र छ- शस्त्र उठाउनु नपरोस, माला जप्ने हातले भाला उचाल्नु नपरोस भन्दै कडा चेतावनी दिएकी थिईन। कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नेपाललाई हिन्दु राष्ट्र बनाई छाड्ने प्रण गरेका थिए। मुस्लिम देश हुन्छ, क्रीस्चियन देश हुन्छ भने नेपाल किन हिन्दुराज्य हुदैन भनेर प्रश्न समेत गरे।