
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा हुने कालोबजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताएका छन् ।




कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक वस्तुहरुको अभाव सिर्जना हुने हल्ला चलाएर कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई गराई अनुगमनकर्ता बन्न आग्रह गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री भट्टले खाना पकाउने, ग्यास, पोट्रोलियम पदार्थ, नुन, चिनी लगायतका अत्यावस्यक वस्तुहरु बजारमा प्रयाप्त रहको र कसैले लुकाएर कालो बजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न आग्रह गरेका हुन् । उनले भारतले नेपालका लागि आवश्यक पर्ने औषधि सहज उपलब्ध गराउने जनाइसकेकोले कुनैपनि औषधिको अभाव नहुने बताए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बजारमा कुनैपनि वस्तुको अभाव नरहेको बताए । अत्यावश्यक सामग्रीहरु बजारमा प्रशस्त रहेको भन्दै कालोबजारीलाई सघाउ पुग्नेगरी हल्ला नगर्न आग्रह गरे ।
उपभोक्ताकर्मी प्रेमलाल महर्जनले सरकारले कालोबजारी भइरहेका बेला बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताए । उनले प्राकृतिक विपदको बेला कालोबजारी गर्नेमाथि अनुगमन बढाई उचित कारबाही गर्नुपर्ने बताए ।
नोवेल कोरोना भाइरसका कारण बजारमा मास्क, पञ्जा लगायतका वस्तुहरुको अभाव भएको छ । त्यस्तै भारतले औषधि निर्यात नगर्ने बताएसँगै अत्यावश्यक औषधिको समेत अभाव हुने हल्ला चलेको छ ।
त्यसबाहेक खाना पकाउने ग्यासको समेत अभाव देखिन थालेको छ । त्यस्तै खाद्य सामग्रीको समेत अभाव हुने भन्दै कालोबजारी गर्नेहरु सक्रिय भएकोले बजारमा कालोबजारी बढेको उपभोक्ताकर्मी महर्जनले बताए ।