
लियोनल मेस्सीले स्पेनिस ला लिगामा उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा बार्सिलोनाले आइबरलाई ५–० ले हराउँदा मेस्सी एक्लैले चार गोल गरे भने आर्थरले एक गोल थपे ।




पहिलो हाफमा तीन गोल गरेको घरेलु टोली बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थपेको हो । मेस्सीले १४, ३७ र ४० औँ मिनेटमा गोल गरी पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।

मेस्सीले खेलको ८७ औं मिनेटमा चौथो गोल गरे भने ८९ औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भयो ।
यो जीतपछि बार्सिलोनाल रियल मड्रिडलाई पछि पारेर शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २५ खेलबाट ५५ अंक भएको छ । रियल मड्रिडको समान खेलबाट ५३ अंक छ । पराजित भएको आइबर २४ अंकसहित १७ औं स्थानमा छ ।
ला लिगा अन्तर्गत शनिबार राति भएका अरु खेलमा रियल सोसिडाडले भ्यालेन्सियालाई ३–० तथा सेल्टा डी भिगोले लेगानेसलाई १–० ले पराजित गरेको छ ।