देशभर खेलकुदको भौतिक पूर्वाधार निर्माणमा  लागिरहेको छौँ : सिलवाल

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले देशका ७ सय ५३ वटै स्थानीय तहमा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा लागिरहेको बताएका छन् ।

 

बिज्ञापन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्यसचिव सिलवालले खेलकुदको भौतिक पूर्वाधार र खेलकुद गतिविधिमा सक्रिय हुनेलाई रकम उपलब्ध गराउने बताए ।

 

‘खेलकुद क्षेत्रको विकासमा सक्रियरुपमा लाग्नेलाई सरकारले आर्थिकसमेत उपलब्ध गराउनेछौं’ उनले भने, ‘कामै नगरी बजेट माग्नेलाई दण्डसजायको व्यवस्था गछौं ।’

 

उनले गण्डकी प्रदेशमा आगामी वर्ष फागुनमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा जुटिसकेको समेत बताए । राष्ट्रिय खेलकुदमा गण्डकीका ११ जिल्लामध्ये १० वटामा कुनै न कुनै खेल सञ्चालन हुने उनले बताए ।

 

उनले स्वीमिङ पुल निर्माणको लागि टेन्टर आह्वान गरेर काम सुरु गर्ने र क्रिकेटको लागि एक हप्ताभित्र थप काम थालनी गर्ने बताए ।

 

‘गल्फ कोर्सको लागि न्यूनतम २ होल निर्माण गरी प्राक्टिक्स सुरु गछौं,’ उनले भने, ‘सरकारी स्कुल तथा कलेजमा रहेका ठूला खेल मैदान (पीएन, अमरसिंह स्कुल), र प्रहरी सेनाले प्रयोग गरेका खेलमैदानलाई कसरी उपयोग गर्ने भन्नेबारेमा समेत सरकारले सोच्दैछौँ ।’

 

देशभर कुनै न कुनै खेलकुद गतिविधि जारी रहेको भन्दै उनले यसबाट खेल क्षेत्र र खेलाडीको विकासमा सहयोग पुग्ने विश्वस लिएको बताए ।

 

उनले १३औँ दक्षिण एसियाली खेलकुद (साग) को हिसाब–किताब ३ महिनाभित्र गरिसक्ने बताए । निर्माणाधीन पोखरा रंगशाला आगामी चैतभित्र सम्पूर्ण निर्माण सम्पन्न हुने बताए । उनले भने, ‘अहिले कन्स्ट्रक्सन फेजमै छौँ । आगामी चैतसम्म निर्माण पूरा हुनेछ ।’

 

सदस्यसचिव सिलवालले आगामी फागुन २२ देखि हुने १८औँ संस्करणको आहा रारा गोल्डकपसमेत पोखरा रंगशालामै हुने जानकारी दिए । त्यस बेलासम्म निर्माणाधीन रंगशालामा १३ हजारको संख्यामा सिट तयार गर्ने बताए ।