
दमक/ हैदराबाद प्रहरीका डीएसपी जसवन्त सहित तीन भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी भारतीय दूतावासलाई बुझाएको छ ।

भारतमा चोरी गरी नेपाल आएर लुकेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिन काठमाडौं आएका भारतीय नागरिकलाई पक्राउ गरीएकाे नेपाल प्रहरीको उच्च स्रोतले दिएको जानकारी अनुसार उनीहरूलाई गत शुक्रबार काठमाडौंमै पक्राउ गरिएको हो । सूचना अनुसार उनीहरू भारतीय सुराकी टोलीका रूपमा नेपाल प्रवेश गरेर काठमाडौंमा कार्यरत नेपाली युवकलाई नियन्त्रणमा लिई भारत लैजान खोजिरहेका थिए ।



तर नेपाल प्रहरीको टोलीले उनीहरूको गतिविधि शंकास्पद देखेर कारबाही गर्दै नियन्त्रणमा लिएको थियो । हैदरावादमा केही समयअघि ३ करोड बराबरको सामान चोरीको घटनामा थुप्रै नेपाली संलग्न रहेको खुलेको थियो ।

त्यसमध्ये फरार एकजना काठमाडौँमा लुकेर बसेको भारतीय प्रहरीले पत्ता लगायो । त्यसपछि ती आरोपित व्यक्तिलाई पक्रन उनीहरु आफ्नै देशको अर्को जिल्लामा प्रवेश गरेझैँ नेपाल छिरेका हुन् । ‘उनीहरुलाई स्वयम्भूबाट नियन्त्रणमा लिएर भारतीय दूतावासमा जिम्मा लगाइएको थियो ।
यसअघि पनि फागुन महिनामा भारतीय पञ्जाब प्रहरीको टोलीलाई ठमेलबाट पक्राउ गरी त्यही प्रक्रियामा दूतावासलाई जिम्मा लगाइएको थियो । त्यतिबेला लम्जुङका डिएसपी निशान्त श्रीवास्तव कारवाहीमा परेका थिए । अहिले भने नेपाल प्रहरीले नेपालीलाई बाहिर लैजान दिएको थिएन ।
यो घटनाले छिमेकी राष्ट्रबीचको सुरक्षात्मक समन्वयमा प्रश्न उठाएको छ । विदेशी सुरक्षाकर्मीहरूको नेपाली भूमिमा पूर्वस्वीकृति बिना गतिविधि गर्नु कूटनीतिक मापदण्ड विपरीत मानिन्छ ।