युरो कप – पोर्चुगल र बेल्जियम भिड्दै, नेदरल्यान्ड र चेक रिपब्लिक पनि प्रतिस्पर्धामा

एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् । नकआउट चरण अन्तर्गत आज ४ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाउन एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन् ।

आज हुने खेलमा साविकको विजेता पोर्चुगलले फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्यिमसँग खेल्दै छ । त्यस्तै अर्को खेलमा नेदरल्यान्डले चेक रिपब्लिको सामना गर्नेछ ।

बिज्ञापन

नेपाली समयअनुसार आज राति हुने पहिलो खेलमा नेदरल्यान्ड र चेक रिपब्लिकले खेल्ने छन् । उक्त राति ९ः४५ बजे हुनेछ । यो खेल हंगेरीको पुस्कास एरिनामा हुनेछ ।

नेदरल्यान्डले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो भने चेक रिपब्लिकले समूह ‘डी’ को उत्कृष्ट तेस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको हो ।

यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्कले शनिबार भएको पहिलो प्रि–क्वार्टरफाइनल खेलमा वेल्समाथि ४–० गोलको शानदार जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएको हो ।

त्यस्तै अर्को दोस्रो खेलमा पोर्चुगल र बेल्जियम बीचको खेल हुनेछ । नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । यो खेल स्पेनको सेभिल्लामा हुनेछ ।

यस खेलमा दुवै टिम क्वार्टरफाइनल पुग्ने दाउमा छन् । बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने पोर्चुगल ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ को उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

बेल्जियम र पोर्चुगलले ठूला प्रतियोगितामा पहिलो पटक एक अर्काविरुद्ध खेल्न लागेका हुन् । यसअघिको ५ खेलमध्ये पोर्चुगलले ३ जित निकालेको छ । यस्तै, पोर्चुगल र बेल्जियमबीचका २ खेल बराबरीमा सकिएको छ ।

अब, यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ । इटाली शनिबार राति अष्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको हो ।