
युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुदलाई पर्यटनको रुपमा विकास गर्न सके राष्ट्रिय रुपमा आम्दानी गर्न सकिने बताएका छन् । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको निर्माणाधीन सिमरा रंगशालाको निरीक्षणका क्रममा उनले नेपाललाई खेल पर्यटनको रुपमा विकास गर्न नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका खेलहरु खेलाउन सकिने बताएका हुन् ।‘खेल पूर्वाधारलाई व्यवस्थित ढंगले निर्माण गर्न सक्यौँ भने अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु नेपालमा आउने वातावरण सिर्जना हुन्छ,’ मन्त्री गहतराजले भने । सिमरा रंगशाला राजधानीबाट नजिक, निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि यसै जिल्लामा भएकाले सिमरा रंगशालालाई मधेस प्रदेशकै ठुलो रंगशालाको रुपमा विकास गर्न सकिने मन्त्री गहतराजले बताए ।

सिमरा रंगशालाको संरचनाहरु अत्यन्तै आकर्षक र लोभ लाग्दो भएकाले देशकै उत्कृष्ट रंगशालाको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने आश्वासनसमेत उनले दिए । ‘एकैपटक ठुलो बजेटले काम गर्न नसके पनि बहुवर्षीय योजना बनाएर काम गर्नुस्, हामी तपाईहरुलाई सहयोग गर्न तयार छौँ,’ उनले भने ।



यसै सन्दर्भमा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्माले सिमरा रंगशालाको पूर्वाधारमा संघीय सरकारले चासो देखाउन जरुरी रहेको बताए । विश्वकर्माले सिमरा रंगशाला स्थानीय र प्रदेश सरकारको बजेटभन्दा ठूलो योजना रहेका कारण संघीय सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

यसैगरी जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सिमरा रंगशालाको विकासको लागि बहुवर्षीय योजना बनाएर काम अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गरेका छन् । जितपुर सिमरा गोल्डकप आयोजना हुँदै आएको रंगशाला लामो समयदेखि निर्माणाधीन अवस्थामा छ । रात्रि अवस्थामा खेल खेलाउन सकिने गरी फ्लडलाइट समेत राखिएको रंगशालाको अन्य पूर्वाधार भने अधुरो छ । प्यारापिट निर्माण नहुँदा अन्य खेलकुदका लागि पूर्वाधार समेत निर्माण गर्न सकिएको छैन ।
रंगशालामा निर्माण हुने प्यारापिटको तल अन्य खेलकुदका लागि कभर्ड हल लगायतको पूर्वाधार बनाउने योजना छ । गोल्डकप आयोजक नव जन जागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाउँदै सिमरा रंगशाला र जीतपुर सिमरा गोल्डकपलाई संघीय सरकारको प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।