नेपाली कारखानामा विदेशी कामदार नराख्न संसदीय समितिको निर्देशन

काठमाडौं । नेपाली कारखानामा विदेशी कामदार रहेको भए उनीहरुको ठाउँमा नेपाली कामदारलाई नै राख्न संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

बिज्ञापन

‘विभिन्न कारखानामा विदेशी कामदार रहेको विषयमा श्रम विभागमार्फत त्यसको अनुगमन गरी लागत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी कामदार राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यलाईसमेत सहभागी गराउन समितिले निर्देशन दिएको छ,’ समिति सभापती विमलप्रसाद श्रीवास्तवले भने ।

उनका अनुसार समितिले नेपाली कारखानाको अनुगमन गरी विदेशी कामदारको लगत संकलन गर्न पनि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई निर्देशन दिएको छ ।

समितिले उद्योग र भौतिक पूर्वाधार मन्त्रालय तथा अन्य निकायसँग समन्वय गरी उद्योगका मजदुरको समस्या समाधान गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले कतार, इजरायल तथा दक्षिण कोरियाको रोजगारीका विषयमा श्रम मन्त्रालयले अहिलेसम्म गरेका कामको प्रगति विवरण पनि माग गरेको छ ।