
दमक। एमाले अध्यक्ष केपी ओली तीन दिने कार्यक्रमका लागि झापा आएका छन् । संघ र प्रदेशको निर्वाचनको तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिन ओली तीन दिन कार्यकता भेटघाटमा केन्द्रित हुने एमाले श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार आज विर्तामोडमा उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी भएपछि पार्टीका नेता कार्यकर्तासँग भेटघाट रहेको छ । ओली आज विर्तामोड नै बस्ने छन् । त्यसपछि ओली भोलि विहान ९ बजे दमकको पार्टी कार्यालयमा नेता कार्यकर्तासँगको भेटघाटमा सहभागी हुनेछन् ।



सो सकेर उनले कमल गाउँपालिका ५ पाँडाजुगीको एक पार्टी प्यालेसमा कार्यकर्तासँग १२ बजे भेटघाट गर्नेछन् । त्यसपछि उनले २ बजे गौरादह र ४ बजे गौरिगञ्जका नेता कार्यकर्तासँग भेट्ने कायक्रम रहेको श्रोतले बतायो ।

संघ र प्रदेशको निर्वाचन नजिकिंदै गर्दा ओलीको भेटघाटले नेता कार्यकर्तालाई उर्जा मिल्ने श्रोतको दाबी छ । ओली भोलि दमकमै बस्ने र पर्सी दमकमै थप भेटघाटपछि काठमाण्डौ प्रस्थान गर्नेछन् ।