रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको धर्ना सुरु

काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्ना सुरु भएको हो । ‘क्रियाशील सदस्यता विवाद टुंगिएको भनिएपनि सार्वजनिक गरिएको छैन।’ नुवाकोट जिल्ला सभापति जगदिशश्वर नरसिंह केसीले भने, ‘सूचिकृत सबै क्रियाशीलको नाम हामीले हेर्न पाउनुपर्छ । विधान र मापदण्ड विपरित आएका नाम भए हटाउनुपर्ने हुन्छ ।’

त्रुटि कमजोरीमाथि पार्टीको विधिविधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्रै अन्तिम रुप दिनुपर्ने उनीहरुको माग छ ।  क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना निरन्तर रहने केसीले बताए । पहिलो दिन काठमाडौंमा उपलव्ध जिल्ला सभापतिले धर्ना दिइरहेको उनले बताए । बुधबार देखि आलोपालो गर्दै ३/४ जना जिल्ला सभापतिले धर्ना दिने उनले बताए । आजको धर्नामा नेता अर्जुन नरसिंह केसीले जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाएका छन् ।

बिज्ञापन